
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ मा संशोधन गर्नको लागि स्वीकृति प्रदान गरेको छ।नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गरेर स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएकोमा बोर्डले विनियमावली संशोधन गरेर नेप्सेमा पठाएको हो ।
नेप्सेले विनियमावली दफा ११ संशोधन गरेर स्वीकृतिको लागि बोर्डमा पठाएको थियो । विनियमावली दफा ११ मा कारोबार सञ्चालन सम्बन्धि व्यवस्था छ। जसमा बिहान १०ः३० देखि ११ः०० बजेसम्म प्रारम्भिक कारोबार हुने, मध्यान्ह ११.०० देखि ३.०० बजेसम्म बोलकबोल र निरन्तर कारोवार हुने तथा अपरान्ह ३.०० देखि ३.०५ बजेसम्म अन्तिम कारोबार हुने उल्लेख छ। हाल अन्तिम कारोबार भने हुने गरेको छैन।
तर अन्तिम कारोबारले परिकल्पना गरेको व्यवस्था भने बोलकबोल र निरन्तर कारोबार समयको अन्त्यमा व्यवस्था गर्न लागिएको हो । संशोधित विनियमावलीको व्यवस्था अनुसार अब २:४५ बजेदेखि ३ बजेसम्म अन्तिम कारोबार हुने छ। यस समयमा हुने कारोबारको भारित औसत मूल्य कायम गरिने छ। र सो दिनको अन्तिम कारोबार मूल्य पनि २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य नै हुने छ।
अहिले शेयरबजार बन्द हुनेबेलामा अन्तिम केहि सेकेण्डमा थोरै कित्ता शेयर कारोबार गरेर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लगाउन सम्भव हुने अवस्था छ। एमकेटी फिचर मार्फत अन्तिम समयमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लगाउने गरेको देखिन्छ। त्यहि मूल्य नै सो दिनको अन्तिम कारोबार मूल्य (एलटीपी) हुन्छ भने सोहि मूल्य नै दोस्रो दिनको लागि सुरुवाती मूल्य कायम हुन्छ। त्यसलाई रोक्न नै नेप्सेले विनियमावली संशोधन गरेको हो । संशोधित व्यवस्था अनुसार अब २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य हुने छ। यसो हुँदा २:५९ पछि कम्पनीको शेयर मूल्य सर्किट लागेपनि सर्किट लेभलमा अन्तिम कारोबार मूल्य तय हुँदैन । २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य कायम हुने छ।
नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य (एलटीपी) गणनाको व्यवस्था संशोधन गरिएको हो। २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य त्यस दिनको अन्तिम कारोबार मूल्य र दोस्रो दिनको सुरुवाती मूल्य कायम हुने गरि नयाँ व्यवस्था गर्न लागिएको हो। यो व्यवस्था गर्नको लागि विनियमावली नै संशोधन गर्नु पर्ने भएकोले नेप्सेले विनियमावली संशोधन गरेर धितोपत्र बोर्डमा स्वीकृतिको लागि पठाएको थियो। अब भने बोर्डले विनियमावली संशोधन गरेर पठाईसकेको छ ।
कहिलेदेखि हुन्छ लागु ?
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार संशोधित विनियमावली कहिलेदेखि लागु हुने भन्नेबारे नेप्सेको संचालक समितिले मिति तोक्ने छ। त्यस अघि यसको लागि आन्तरिक परिक्षण हुने छ। आन्तरिक परिक्षण सकिएपछि नेप्सेको संचालक समितिमा पेश हुने र संचालक समितिले संशोधित विनियमावलीको व्यवस्था लागु हुने मिति तोक्ने छ।
संशोधित विनियमावली लागु भएपछि सम्बन्धित दिनको अन्तिम कारोबार मूल्य (एलटीपी) गणनाको लागि २:४५ देखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्य लिईने छ । यसो हुँदा विशेष गरि कम पुँजी भएका अर्थात् लो क्याप कम्पनीको शेयरमा अन्तिम सेकेण्डमा सर्किट लाग्ने क्रम रोकिने विश्वास गरिएको छ। यसले साना कम्पनीको शेयर मूल्यमा अन्तिम समयमा हुने चलखेल रोकिने विश्वास पनि गरिएको छ।