नेप्से सीईओ नियुक्ति: आवेदन दिने म्याद सात दिन थप

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा आवेदन दिने म्याद ७ दिन थपिएको छ। निप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरिएको जानकारी गराएको हो। अब इच्छुक उम्मेदवारले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।यसअघि सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै फागुन १८ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। तर, यो अवधिमा ३ दिदन सार्वजनिक बिदा परेकोले आवेदन दिने म्याद थप गरिएको समितिले जनाएको छ।

नेप्सेमा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक र योग्य नागरिकले तोकिएको अवधिभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ। आवेदनका साथ गोप्य खामबन्दी व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्ने समितिले जनाएको छ। नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो। हाल नेप्सेको कामु सीईओ जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँललाई दिइएको छ।

नेप्सेको रिक्त सीईओ पदमा खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले ३ सदस्यीय समिति गठन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको हो। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेका समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन्।

समितिले प्राप्त दरखास्तको मूल्यांकन गरी ५ जनाको नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीमध्ये ३ जनाको नाम मन्त्रिपरिसदमा सिफारिस गर्नेछ। तिनै ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषदले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।