काठमाडौं। राजावादी आन्दोलनका नाममा तीनकुने रणमैदान बनेका बेला भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको आमसभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रमाथि षड्यन्त्र नगर्न चेतावनी दिएका छन्।
दाहालले पूर्वराजालाई राजनीतिक दललाई कमजोर ठानेर देशलाई मध्ययुगीन इतिहासमा फर्काउने दुस्साहस नगर्न र राजावादीका नाममा हिंसा नमच्चाउन आग्रह गरे। उनले राजतन्त्रले विगतमा गरेका गल्तीका कारण देश लामो संक्रमणकालको सिकार भएको उल्लेख गर्दै फेरि त्यही गल्ती नगर्न सचेत गराए।
उनले भने, ‘जनताले राजतन्त्र युगको अविकास, प्रजातन्त्रविरोधी हर्कतको परिणाम भोगिरहेकै छन्। अब अर्को गल्ती गरे पूर्वराजाले भोग्न बाँकी केही रहँदैन।’