भक्तपुरमा नवौं औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

काठमाडौँ। भक्तपुरको सल्लाघारी तीनकुनेस्थित खुला चौरमा चैत २८ देखि वैशाख ७ गतेसम्म "नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२" आयोजना हुने भएको छ। महोत्सवमा दैनिक उपभोग्य सामग्री, कृषि तथा हस्तकला उत्पादन, औद्योगिक प्रविधि, अटोमोबाइल, मोबाइल–इलेक्ट्रोनिक्स प्रदर्शनी तथा बिक्रीका लागि स्टलहरू रहनेछन्। बालबालिकाका लागि खेलस्थल, रोटे पिङ, सर्कस, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिनेछ।

राष्ट्रिय कलाकारहरूको प्रस्तुति, हाँस्यव्यंग्य, फेशन शो तथा नृत्य प्रतियोगिताले महोत्सवलाई आकर्षक बनाइनेछ। १५० स्टल रहने मेलामा २०–५०% छुटको व्यवस्था गरिएको छ भने पाँच लाखभन्दा बढी दर्शक आकर्षित गर्ने लक्ष्य राखिएको छ। प्रवेश शुल्क रु ५० र रु ८० निर्धारण गरिएको छ, विशेष छुट विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई दिइनेछ। "नयाँ वर्ष नयाँ सोच, युवाहरूको लागि छ प्रगतिको श्रोत" नारासहित महोत्सव नयाँ वर्ष २०८२ तथा भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा आयोजना गर्न लागिएको हो।