
काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात् ४ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अन्तर्गत १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको छ। इन्स्योरेन्सले हकप्रद निष्काशन प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गरेको थियो, जसअनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले यसको वित्तीय दायित्व बहन गर्ने क्षमतालाई सुरक्षित संकेत गर्दछ। यस शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरूले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका कार्यालयहरू, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, साथै ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनपछि कम्पनीको हालको २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ चुक्ता पूँजी वृद्धि भई २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।