
काठमाडौं । विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको छ। लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर निष्काशन गर्न लागेको हो।
सो एफपीओमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिनेछ। एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो।
एफपीओ निष्काशनका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले लघुवित्तलाई 'केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग' प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।