प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै, विभिन्न विधेयक टेबुल गर्ने कार्यसूची

काठमाडौं। आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक सुरु हुनेछ भने दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ।आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया ले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

साथै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।