सामाजिक सुरक्षा कोषमा ७५ अर्ब रुपैयाँ जम्मा, १३ अर्ब भुक्तानी

काठमाडौँ  सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ। २०६७ सालमा स्थापना भएको कोषले जम्मा रकममध्ये १३ अर्ब ३७ करोड रुपैयाँ योगदानकर्ताहरुलाई भुक्तानी गरिसकेको छ। वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सबैभन्दा धेरै ६१ अर्ब ७३ करोड रुपैयाँ संकलन भएको छ भने औषधि उपचार तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, र आश्रित परिवार सुरक्षा योजनामा समेत उल्लेख्य रकम संकलन र भुक्तानी भइसकेको छ।

कोषमा हालसम्म २० लाख ७९ हजार श्रमिक सुचिकृत भइसकेका छन्, जसमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको संख्या उच्च छ। कोषमा आबद्ध श्रमिकहरुले औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत विभिन्न सुविधाहरु पाउने व्यवस्था छ। सहभागी हुन चाहने रोजगारदाताहरुले कोषको वेबसाइट www.ssf.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।