लक्ष्मी ल्यूब आयलले च्यानल मिट २०२५ भव्य रूपमा सम्पन्न गर्यो

काठमाडौँ । लक्ष्मी ल्यूब आयल प्रालिले नेपालभरका डिलर तथा रिटेलरहरूसँगको सम्बन्धलाई सुदृढ बनाउन तथा टोटल इनर्जिज ब्रान्डको बजार विस्तारका लागि रिटेलर मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ। टोटल इनर्जिज इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, विभिन्न निर्देशकहरू तथा कम्पनीका वरिष्ठ प्रबन्धकहरू उपस्थित थिए।

कार्यक्रमको उद्देश्य नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना र रणनीतिबारे जानकारी गराउनुका साथै डिलर तथा रिटेलरहरूसँगको सहकार्यलाई मजबुत बनाउनु रहेको थियो। देशभरका २०० भन्दा बढी डिलर तथा रिटेलर सहभागी रहेको यस कार्यक्रम लक्ष्मी ल्यूब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम भएको कम्पनीले जनाएको छ।

उक्त अवसरमा कम्पनीले २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरूलाई सम्मान गरेको थियो। काठमाडौं जोरपाटिस्थित शंकर यमुना अटो पार्ट्सलाई उत्कृष्ट डिलर अवार्ड, चन्द्रागिरी अटो क्लिनिकलाई उत्कृष्ट रिटेलर अवार्ड, तथा किसान ट्रेडिङ कन्सर्नलाई उत्कृष्ट ओइएम/फ्लिट अवार्ड प्रदान गरियो। सहभागीहरूले ब्रान्ड प्रवर्द्धनका लागि गरेको योगदानको कदर गर्दै प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

टोटल इनर्जिजका अधिकारीहरूले कम्पनीको नवीनता, गुणस्तर तथा पर्यावरणीय प्रतिबद्धताबारे जानकारी गराउँदै नेपाली लुब्रिकेन्ट बजारको अवसर र चुनौतीबारे छलफल गरे। यस कार्यक्रमले लक्ष्मी ल्यूब आयलको नेपालभरि विश्वसनीय वितरकका रूपमा भूमिका मजबुत बनाउने तथा टोटल इनर्जिज लुब्रिकेन्ट्सको थप बृद्धिका लागि आधार तयार गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।