मौद्रिक नीतिपछि सेयर बजारमा सुधार, नेप्से र कारोबार रकम बढ्यो

काठमाडौँ ।साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ७ कारोबार दिनदेखि बढीरहको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन शेयर बजारमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव परेको हो। केन्द्रिय बैंकले बैंकहरुले भविष्यमा गर्नुपर्ने कर्जा नोक्सानी बापत छुट्याउनु पर्ने रकम घटाउनुका साथै लघुवित्तको आधार दर अनुसार कर्जा दर तय गर्न पाउने व्यवस्था गरेको थियो। जसको सकारात्मक प्रभावले यस दिन नेप्से र कारोबार रकम दुबै बढ्न पुगेको हो।

बिहीबार नेप्से परिसूचक ४९.१५ अंक बढेर २८१५.०४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० स्टकको १ लाख १२ हजार ३२ पटकको कारोबारमा ११ अर्ब ३९ करोड २४ लाख १ हजार रुपैयाँबराबरको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निरन्तर १३ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ९४ रुपैयाँ ४० पैसा घटेर १ हजार ३८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७६ करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ४६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।