स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकालाई  पियोर इनर्जीको आईपीओ फागुन २० देखि खुल्दै

काठमाडौँ  । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बाँके जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले बाँके जिल्लाका स्थानीयलाई १ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १६ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा चैत्र गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७२ सय कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ५ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई निष्काशन गरिएको आईपीओ बाँडफाँड गरिएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।