आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ  आज देशभर विविध कार्यक्रम गरेर ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम मनाइँदै छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यता जनताको संघर्ष तथा बलिदानबाट स्थापित भएको हुनाले आजको दिन नेपाली इतिहासमा गौरवपूर्ण दिनका रुपमा मानिन्छ । प्रजातन्त्र दिवसको अवसरमा आज राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना दिएका छन् ।

सरकारले ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को औपचारिक मूल समारोह आयोजना हुने छ ।प्रजातन्त्र दिवसको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।