इ-कमर्स विधेयक स्वीकृत, अनलाइन व्यापार अब कानूनी दायरामा

काठमाडौँ। विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलवारको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित गरेको हो ।

प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव उपर सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए।

जवाफमा उनले अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन ‘विद्युतीय व्यापार विधेयक’ ल्याइएको बताए । उनले विधेयकमा छलफलका क्रममा आएका संशोधनहरुलाई नियमावली र कार्यविधिमा समावेश गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । उनले प्रविधिको विकाससँगै आवश्यक भएका प्रावधानहरु समयक्रमसँगै नियमावली र कार्यविधिमा समावेश गरेर कानूनलाई थप समृद्ध बनाउँदै लैजाने बताए ।

उनले भने,‘छलफलमा सहभागि माननीयज्युहरुले दिनुभएका महत्वपूर्ण सुझावहरुलाई सरकारले नियमावलीमा र कार्यविधिमा व्यवस्था गरेर यसलाई अझै समृद्ध बनाउने र यसको प्रभावकारितालाई बलियो बनाउनका लागि हामी त्यो विधिबाट पनि जान सक्छौं । विधेयकको छलफलको क्रममा दुई दर्जनबढी छलफलहरु भएका थिए । त्यसमा पनि पर्याप्त छलफल भएको छ । हामीले प्रविधिको विकाससँगै यस कानूनलाई पनि संशोधन गर्नुपर्ने हुन्छ । सरकारको तर्फबाट प्रश्तुत भएको यो विधेयकमा सरोकारवालहरुबाट आएका संशोधनहरुलाई समेत प्रयाप्त रुपमा समेटेका छौं । अहिले अनलाईनमार्फत हुने व्यापारिक कारोबारलाई नियमन गरि व्यवस्थित र विश्वसनीय बनाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले विद्युतीय व्यापार विधेयकको आवश्यकता हामीले महसुस गरेका छौं ।’


विधेयकले अनलाइन व्यापारलाई पारदर्शी बनाउने र उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तु प्राप्त गर्न सहज हुने विश्वास समेत व्यक्त गरे । जवाफपछि मन्त्री भण्डारीले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावलाई प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।