सर्वोच्च अदालत : बैंक तथा वित्तीय संस्थामा श्रम ऐनको प्रभाव नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने आदेश जारी गरेको छ । आज शुक्रबार सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने ब्याख्या सहितको आदेश जारी गरेको हो ।

सर्वोच्चका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत तथा न्यायधीशहरु तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी,  र टेकप्रसाद ढुङ्गाना सम्मिलित वृहत पूर्ण इजलाशले यस्तो आदेश जारी गरेको हो ।  स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले जारी गरेको रिट निवेदनमा निर्णय सुनाउदै सर्वोच्चको बृहत पूर्ण इजलाशले  बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने ठहर गरेको हो।

लघुवित्तले केही कर्मचारी हटाएपछि ति कर्मचारी श्रम ऐन विपरित आफुलाई हटाईएको भन्दै पुनर्बहालीको माग गर्दै श्रम अदालत गएका थिए । श्रम अदालत दिएको आदेश बदरको माग गर्दै लघुवित्तले सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले आज लघुवित्तले माग गरे बमोजिम नै बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने आदेश जारी गरेको हो।

यस अघि सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित हुने आदेश जारी गरेको थियो।  प्राइम कमर्शियल बैंकले हालेको मुद्दामा २०८० असार १९ गते सर्वोच्चको संयुक्त इजलासले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित हुने आदेश जारी गरेको थियो। आजको बृहत पूर्ण इजलाशले सो आदेश आजकै मिति देखि बदर गरिदिएको छ । आदेशमा भनिएको छ ‘प्राइम कमर्सियल बैङ्क लिमिटेड विरुद्ध श्रम अदालत, काठमाडौँसमेत भएको ०७५-WO-०४०५ को उत्प्रेषणसमेतको रिट निवेदनमा यस अदालतको संयुक्त इजलासबाट मिति २०८०।०३।१८ मा भएको आदेशमा भएको व्याख्या (ruling) आजैका मितिदेखि लागू हुने गरी अमान्य (prospective overruling) हुने ठहर भएको अवस्था देखिन्छ ।’

सर्वोच्च अदालतबाट यस अघि बैँक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लाग्ने र नलाग्ने दुईथरी व्याख्या गरेको थियो । त्यसपछि यस विवादलाई बृहत पुर्ण इजलासबवाट सुनुवाई गरेर टुंगो लगाउन आदेश भएको थियो। जसमा आज सर्वोच्चले विशेष ऐनद्धारा संचालित बैँक तथा वित्तीय संस्थामा श्रम ऐन लागु नहुने ऐतिहासिक फैसला गरेको हो । यस संगै अब कर्मचारी व्यवस्थापनको मामलामा बैंक तथा वित्तीय संस्थाहरु श्रम ऐनको व्यवस्था मान्न बाध्य हुने छैनन् ।