१०८% आम्दानी वृद्धि गर्दै रावा इनर्जी १.३४ करोड नाफामा

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको रावा इनर्जी डेभलपमेन्ट लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ लाख १७ हजार रुपैयाँ घाटामा रहेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०८.०५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट २ करोड ६४ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म कर्मचारीका लागि २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७८.९७ प्रतिशतले धेरै हो । यस्तै अघिल्लो आवसम्म २६ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च घटेर १० लाख ७१ हजार रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्म ३९ करोड ४१ लाख मध्य तथा दीर्घकालिन कर्जा र ४ करोड १५ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ । कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ३७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति २ करोड ७३ लाख र कुल चालु दायित्व ६ करोड ७० लाख रुपैयाँ रहेको छ ।