बचतकर्ताको संख्याको तुलनामा ऋणीहरूको संख्या निकै न्यून

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप खाता झण्डै ६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप खाताको संख्या पाँच करोड ७९ लाख २५ हजार सात सय ९५ पुगेको छ । कुल कर्जा खाताको संख्या भने १९ लाख २५ हजार सात सय २४ मात्र रहेको छ । २०८० पुस मसान्तमा कुल निक्षेप खाताको संख्या पाँच करोड ३५ लाख ५० हजार थियो भने कर्जा खाता १८ लाख ६७ हजार ८३ वटा थियो ।

२०८१ पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेको निक्षेप खाताको संख्या चार करोड ९६ लाख ५१ हजार एक सय ३७ पुगेको छ भने कर्जा खाता संख्या १६ लाख पाँच हजार आठ सय १५ छ । गत आवको सोही अवधिमा निक्षेप खाता संख्या चार करोड ५९ लाख ११ हजार ४२ थियो भने कर्जा खाता संख्या १५ लाख ३४ हजार चार सय १६ थियो । विकास बैंकहरूमा २०८१ पुससम्म निक्षेप खाताको संख्या ७३ लाख ३९ हजार दुई सय ५६ छ भने कर्जा खाताको संख्या दुई लाख ७५ हजार नौ सय ५० छ । गत आवको सोही अवधिमा निक्षेप खाता ६८ लाख दुई हजार पाँच सय ७० र कर्जा खाता संख्या दुई लाख ९० हजार चार सय ९१ थियो ।

फाइनान्स कम्पनीहरूमा २०८१ पुस मसान्तसम्म निक्षेप खाताको संख्या नौ लाख ३५ हजार चार सय दुई पुगेको छ भने कर्जा खाताको संख्या ४३ हजार नौ सय ३९ छ । गत आवको सोही अवधिमा निक्षेप खाता संख्या आठ लाख ३६ हजार छ सय ९४ वटा र कर्जा खाता संख्या ४२ हजार एक सय ७६ थियो ।