स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स प्रक्रिया स्थगन गर्नुपर्ने प्रचण्डको धारणा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले गलत बाटोबाट नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी अघि बढाएको भन्दै आलोचना गरेका छन् । बिहिबारको संसद बैठकमा बोल्दै प्रचण्डले ऐनले परिकल्पना नै नगरेको निर्देशिका बनाएर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘धितोपत्र बोर्डमा बिचौलियाहरूको आँखा परिरहेको छ, ऐनले परिकल्पना नगरेको निर्देशिका बनाएर लाइसेन्स दिन खोजिनु गैरकानुनी कदम हो’ प्रचण्डले भने, ‘यो प्रक्रिया तत्काल रोक्नुपर्छ ।’

प्रचण्डले सरकार अवैध प्रक्रियाबाट अघि बढ्ने हो भने पुँजी बजारसहित समग्र अर्थतन्त्रमै दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पर्ने भन्दै लाइसेन्स दिन राज्यका नियमको पालना हुनुपर्ने बताए । यदि नियम पालना नगरिए पुँजी बजारमा ठूलो अस्थिरता निम्तिने प्रचण्डको चेतावनी छ ।