ग्यास उद्योग संघको चेतावनी: १९ बुँदे मागसहित आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ। संघका अध्यक्ष शिव घिमिरेले नेपालमा ५९ ग्यास उद्योग सञ्चालनमा रहेको बताउँदै विस्फोटक ऐनको अभावमा भारतको ऐनअनुसार उद्योग सञ्चालन गर्नुपरेको गुनासो गरे। संघले नेपाली ढुवानी साधनको अभावले बार्षिक खर्बौं रुपैयाँ विदेशिएको भन्दै सरकारको नीति उद्योगलाई निरुत्साहित गर्ने भएको आरोप लगाएको छ।

संघले माघ ३० गतेदेखि नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने निर्णय गरेको छ। फागुन ६ गतेदेखि भारतबाट एलपी ग्यास लोड नगर्ने, फागुन १२ देखि भन्सार नाकामा रोक्ने, र फागुन १८ देखि उद्योगहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ। संघले एलपी ग्यास सुरक्षासम्बन्धी जनचेतना, कमसल पाइप तथा रेगुलेटरको नियमन, डिलर कमिसन, ढुवानी र ओभरहेड खर्च वृद्धि गर्नुपर्ने लगायतका माग राखेको छ।