
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १५ मा बस्ने गरी ३८औं साधारणसभा बोलाएको छ। माघ २१ म बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश वितरण नगरिनेलगायत निर्णय गरेको हो।
साविक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म सेयरधनीलाई लाभांश वितरण गरेको छैन। साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल, लेखापरीक्षकको प्रतिवेदन, वासलात, आव २०८०/८१ को नाफा नोक्सानलगायत छलफल गरी पारित गर्नेछ।
बैंकको सहायक कम्पनी एनआइएमबी एस क्यापिटल र एनआइएमबी स्टक मार्केट्ससमेतको आव २०८०/८१ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव साधारणसभाले पारित गर्नेछ। यसैगरी साधारणसभामा संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीबाट २ सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ। साधारणसभा प्रयोजनका लागि बैंकले माघ २९ देखि साधारणसभासम्म लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।