
काठमाडौँ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्स आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई रु.७६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.८३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७९९ अर्ब ५४ करोड रहेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २,३०,४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,६२,६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,०६,३९० र १,३३,९४० रहेको थियो ।