मौद्रिक व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, आज ४० अर्ब तरलता संकलन गर्ने

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज माघ २० गते ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल प्रक्रियामार्फत उक्त रकम खिच्नेछ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख', र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। निक्षेप संकलनका लागि बैंकहरूले ब्याजदर प्रस्ताव गर्नुपर्नेछ, जसमा बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था छ।

आवेदन दिँदा न्यूनतम १० करोड र अधिकतम ५ करोडको गुणाङ्कमा विभाजन हुने गरी पूर्ण रकमसम्म आवेदन दिन सकिनेछ। आवेदन दिँदा निक्षेप रकम र ब्याजदर (दशमलव पछाडिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकको Online Bidding System Software मार्फत अपराह्न ३ बजेभित्र आवेदन दिनुपर्ने व्यवस्था छ।

निक्षेप संकलन के हो?

बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल उपकरण प्रयोग गर्दछ। यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोलका आधारमा निक्षेप संकलन गरिन्छ, जसले तरलता प्रशोचन गर्न मद्दत गर्छ।

बोलकबोलका आधारमा न्यूनतम ब्याजदर प्रस्ताव गर्ने आवेदकलाई प्राथमिकता दिइनेछ। यदि समान ब्याजदर प्रस्ताव गर्ने बैंकहरू बढी भएमा Pro-rata Basis मा बाँडफाँड हुनेछ। संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन तर SLR तथा Liquidity Ratio मा समावेश गर्न सकिनेछ ।