
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनपछि अवितरित ३ लाख २० हजार ५३३.२२ कित्ता शेयर आज माघ २० गतेदेखि लिलामीमा खुला गरेको छ। यसमा संस्थापक समूहका २९,९७७.३१ कित्ता र सर्वसाधारण समूहका २,९०,५५५.९१ कित्ता शेयर रहेका छन्। लिलामीको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र सर्वाधिक मूल्य कबोल गर्ने आवेदकलाई प्राथमिकता दिइनेछ।
संस्थापक समूहका लागि न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ताको आवेदन दिनुपर्नेछ। अधिकतम भने सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।लक्ष्मी सनराइज क्यापिटल लिलामीको बिक्री प्रबन्धक रहेको छ। आवेदन काठमाडौँको कमलपोखरीस्थित क्यापिटल कार्यालय तथा लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, र धनगढी शाखाबाट दिन सकिन्छ।
यसअघि कम्पनीले १०:६.२५६ को अनुपातमा ९६.३१ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो, जसमा ९३.१० लाख कित्ता बाँडफाँड भई बाँकी सेयर लिलामीमा ल्याइएको हो।