बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थाले

काठमाडौ  । बैंक तथा वित्तीय संस्थाहरूको लाभांश घोषणा क्रम सकिएसँगै बीमा कम्पनीहरूले पनि क्रमशः लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १४ जीवन बीमा कम्पनीमध्ये २ वटाले मात्रै लाभांश घोषणा गरेका छन्।

सुर्यज्योति लाइफ इन्स्योरेन्सले १०.२६% बोनस र २४.७४% नगद गरी ३५% लाभांश घोषणा गरेको छ, जबकि नेपाल लाइफ इन्स्योरेन्सले १०% बोनस र ११.०५% नगद गरी कुल २१.०५% लाभांश दिने निर्णय गरेको छ। नेपाल लाइफको बोनस शेयर सूचीकृत भएपछि चुक्ता पूँजी ९ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ। हिमालयन लाइफ इन्स्योरेन्सले हालै १४% बोनस शेयर घोषणा गरेको छ। त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८% बोनस शेयर पारित गरी सूचीकृत गरिसकेको छ।

अघिल्लो आर्थिक वर्षमा उच्च व्याजदरका कारण बीमा कम्पनीहरूको प्रतिफल आकर्षक देखिएको थियो। तर, जीवन बीमा कम्पनीहरूको एक्च्युरी भ्यालुएसनमा ढिलाइ हुने भएकाले लाभांश घोषणा पनि सुस्त गतिमा भइरहेको छ। गत वर्ष मर्जरमा गएका धेरै कम्पनीहरूले पनि ढिलो गरी लाभांश घोषणा गरेका छन्।

आईएमई लाइफ इन्स्योरेन्सले २६.३२%, सन नेपाल लाइफले २५.०५%, रिलायवल नेपाल लाइफले १६.८४% र सिटिजन लाइफले ५.२६% लाभांश दिएका थिए। बीमा प्राधिकरणले एकै वर्ष दुई पटक लाभांश घोषणा गर्न रोक लगाएपछि सिटिजन लाइफको २५% बोनस शेयर फिर्ता भएको थियो। गत वर्ष लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले मात्रै कुनै लाभांश घोषणा गरेको थिएन।