
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गैरबैंकिङ सम्पत्ति बिक्री गर्न सकेका छैनन्, जसका कारण बैंकिङ क्षेत्र थप दबाबमा परेको छ। पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि बिक्री नभएपछि बैंकहरूले जोखिम न्यूनीकरणका लागि शतप्रतिशत रकम प्रावधानमा राख्नुपरेको छ, जसले उनीहरूको नाफामा असर पुर्याएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म गैरबैंकिङ सम्पत्ति ३९ अर्ब ४७ करोड १० लाख रुपैयाँ पुगेको छ। औसत निष्क्रिय कर्जा गत वर्षको तुलनामा शून्य दशमलव ७६ प्रतिशतले वृद्धि भई ४.४२ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दै जाँदा गैरबैंकिङ सम्पत्ति पनि उल्लेख्य रूपमा बढेको देखिन्छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति १७ अर्ब ३० करोड ६० लाख रुपैयाँले वृद्धि भएको छ। गत वर्ष मंसिरमा यो सम्पत्ति २२ अर्ब १६ करोड ५० लाख रुपैयाँ थियो। वाणिज्य बैंकहरूमा औसत निष्क्रिय कर्जा ४.२८ प्रतिशत पुगेको छ भने गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४ अर्ब २३ करोड ५० लाख रुपैयाँले बढी हो।
विकास बैंकहरूमा औसत निष्क्रिय कर्जा ४.३७ प्रतिशत पुगेको छ भने गैरबैंकिङ सम्पत्ति ४ अर्ब ५४ करोड २० लाख रुपैयाँ पुगेको छ। यस्तै, फाइनान्स कम्पनीहरूमा यो दर १०.८४ प्रतिशत पुगेको छ, गैरबैंकिङ सम्पत्ति भने २ अर्ब २७ करोड ४० लाख रुपैयाँ पुगेको छ।