अर्थतन्त्र सुधारका लागि सरकारको प्रयास जारी : मन्त्री गुरुङ

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले अर्थतन्त्र सुधारको चरणमा प्रवेश गरिसकेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित 'नेपाल चेम्बर एक्स्पो' उद्घाटन समारोहमा बोल्दै उनले सरकार गठन हुँदा अर्थतन्त्र कोमामा रहेको तर अहिले सुधारको दिशामा अघि बढिरहेको बताए।

'सरकारले अहिले कानुनी र नीतिगत सुधार गर्दैछ। हाम्रो उद्देश्य अर्थतन्त्रलाई पूर्ण रूपमा सुधार गरी आर्थिक स्थायित्व कायम गर्नु हो,' मन्त्री गुरुङले भने। उनले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै यस क्षेत्रका उद्योगहरूलाई सहज बनाउन अध्यादेश ल्याइएको जानकारी दिए।

उनका अनुसार, नेपालमा आइटी सेक्टरलाई बढावा दिँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल गराउने वातावरण बनाउन सरकार प्रतिबद्ध छ। 'आइटी उद्योगहरूले अन्य देशमा पनि शाखा विस्तार गर्न सकून्, लगानीको अवसर बढोस् र नेपाल सरकारको राजस्व वृद्धि होस् भन्ने हाम्रो लक्ष्य हो,' उनले भने।