ग्लोबल आइएमई लघुवित्तको मुनाफामा उल्लेख्य वृद्धि

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार संस्थाको मुनाफा उल्लेखनीय रूपमा बढेको छ।

पहिलो ६ महिनामा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यो नाफा ४ करोड ७८ लाख रुपैयाँ मात्र थियो।

ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि तथा इम्पेरिमेन्ट चार्जमा गिरावट आउँदा नाफा उकालो लागेको हो। लघुवित्तको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ पुगेर गत वर्षको तुलनामा ६ करोड ४३ लाख रुपैयाँले बढेको छ।

चुक्ता पूँजी ६१.८९ करोड रुपैयाँ रहेको लघुवित्तले ३ अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। प्रतिशेयर आम्दानी ३८.२४ रुपैयाँ पुगेको छ भने नेटवर्थ २००.३८ रुपैयाँ कायम छ।