
काठमाडौ । साताको अन्तिम दिन नेप्से परिसूचक उकालो लाग्दै हरियोमा बन्द भएको छ। पछिल्ला तीन दिन लगातार गिरावटमा रहेको नेप्से यस दिन सुधारिएर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक २४.५० अंकले उकालो लागेर २६५७.७७ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इन्डेक्स ३.१९ अंक, फ्लोट इन्डेक्स १.६५ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१४ अंकले वृद्धि भएको छ।
नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। सोमबार ८ अर्ब ९२ करोडको कारोबार भएको बजारमा मंगलबार ३२५ स्टकका ९५ हजार ९७ पटकका कारोबारबाट ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर, र सामुदायिक लघुवित्तका शेयर सर्किट लेभलमा पुगेका हुन्। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य झन्डै ९.५ प्रतिशतले उकालो लागेको छ, भने कारोबारमा रहेको दोल्ती पावरको शेयरमूल्य ८.४३ प्रतिशतले घटेको छ।
कारोबार रकमका हिसाबले सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो। यस बैंकको ३८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २९ करोडभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ।