विशेष प्रस्तावसहित समता घरेलु लघुवित्तको साधारण सभा हुने

काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११औं साधारण सभा आह्वान गरेको छ। माघ १० गते सम्पन्न सञ्चालक समितिको बैठकले सभा माघ २६ गते धुलिखेलको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजे गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, लघुवित्तको मर्जर वा प्राप्तिका लागि उपयुक्त संस्थाहरूसँग छलफल गर्न र प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ। संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा नियामक निकायका निर्देशन अनुसार फेरबदल गर्न समितिलाई अधिकार दिने विशेष प्रस्तावसमेत पेस हुनेछ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण अनुमोदन गरिनेछ। साथै, आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिने कार्यक्रम छ।