
काठमाडौं : सेयर बजार लगातार तेस्रो कार्य दिन पनि घटेको छ । सोमबार नेप्से सूचक १०.६१ विन्दुले घटेर २६३३.३२ अंकमा आएको छ । ८ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक बढेका छन् ।
कारोबार रकम औसतमा राम्रै रहे पनि नेप्से सूचक भने बढ्न सकेको छैन । यसअघि केही दिन बजार बढ्दा सकारात्मक माहोलको अपेक्षा गरिएको थियो । तर उक्त माहोल टिक्न सकेन । अहिले बजार फेरि ओरालो लागेको छ ।
बढेको मौका छोपिहाल्ने कारोबारीहरु हावी भएकाले नेप्से प्रभावित भएको देखिन्छ । यस्तै, करेक्सन र साइडवेजको लामो चरण अझै पार गर्न बाँकी रहेकाले पनि सेयर बजारले गति लिन नसकेको कतिपयको भनाई छ ।
यस्तै, बैंकहरुको नाफा घटेको वित्तीय विवरण, समग्रमा यस वर्ष सूचीकृत कम्पनीहरुको लाभांश दर घट्नु लगायतले पनि बजारलाई केही हदसम्म प्रभावित पारेको देखिन्छ । यसबाहेक मुलुकको समग्र अर्थतन्त्र मन्दीमा रहेकाले पनि सेयर बजारमा त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेको हो ।
पुँजी बजारका लागि सुधारका पहलहरु भइरहेका छन् । धितोपत्र बोर्डले नयाँ नेतृत्व पाइसकेको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुला गर्ने अन्तिम कसरतहरु भइरहेका छन् । सेयर बजारमा एसएमई कम्पनीहरुलाई भित्र्याउन नियमहरु बनाउने काम पनि भइरहेका छन् । समग्रमा सेयर बजारमा सुधारका पहलहरु भइरहेको देखिन्छ । यी कुराहरुले अन्ततः स्टक मार्केटमा सकारात्मक प्रभाव पार्दै जाने अनुमान गर्न सकिन्छ ।
यसैगरी, बैंक ब्याजदर लगातारजसो घट्दै न्यून विन्दुमा आएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । यी कुराले पनि बजार माथि लैजान सहयोग गर्ने देखिन्छ । लामो समय सुस्ताएको बजार उठ्न केही समय लाग्ने विज्ञहरु बताउँछन् ।
२६ सयको लेबलमा रहेको बजारले अघि बढ्न खोज्दै गर्दा पुनः एकपटक दबाबको सामना गरेको देखिन्छ । अहिले एकुमुलेसन चरण रहेको पनि देखिन्छ । त्यसो त सेयर बजार करिब ६ महिनायता समग्रमा हेर्दा बढ्न सकेको छैन । त्यसअघि ३ हजारको लेबलमा पुगेको नेप्से अहिले २६ सयकै एरियामा छ । बजार लामो समयदेखि २४ सयदेखि २७ सयको लेबलमा घुमिरहेको छ । यो भन्दा माथि वा तल जान सकेको छैन ।
लामो समयदेखि नेप्से यही ३ सय विन्दलाई आधार मानेर घुमिरहेको छ । नेप्सेले करिब ६ महिना यो तहमा बिताएकाले अब सकारात्मक गति लिन्छ भन्नेमा धेरै लगानीकर्ता आशावादी रहेको पाइन्छ । यद्यपि, अपेक्षा अनुसार अझै बजार अघि बढिहाल्न भने सकेको देखिंदैन ।
पछिल्ला वर्षहरुमा नेपाली सेयर बजारमा ट्रेडरहरु निकै हावी भएको देखिन्छ । अलिकति बढ्ने बित्तिकै बिक्री गरिहाल्ने प्रवृत्ति रहेको छ । यसकारण पनि नेप्सेल अपेक्षाकृत गति लिन नसकेको जानकारहरु बताउँछन् । सेयर बजारमा बैंक ब्याजदर, तरलता, अर्थतन्त्रको अवस्था लगायतका पक्षले महत्वपूर्ण भूमिका खेल्ने गर्छ।
अहिले अधिकांश कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ भने धेरै कम्पनीले सेयरधनीको खातामा लाभांश पनि पठाउन थालिसकेका छन् । यस्तै, सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण पनि धेरैको आइसकेको छ ।
सस्तो ब्याजदरका कारण आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम बढेको तथ्यांकले देखाएको छ । तर सर्वसाधारण लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरु छानेरै योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ ।
यस दिन ३ सय १२ कम्पनीको १ करोड ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८३ लाख रुपैयाँ भन्दा बढीसहित कारोबार रकममा सिन्धु विकास बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।