
काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैैछ । मंगलबारदेखि निष्काशन हुने जानकारी गराइएको हो ।१० वर्षे ऋणपत्र निष्काशन गर्न लागिएको जानाकारी दिएको छ । बोलकबोल माफर्त यसको ब्याज निर्धारण हुने समेत बताइएको छ ।
यो ऋण पत्र बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । यो धितोको रुपमा प्रयोग गर्न सकिने छ ।मंगलबार विहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बोलकबोल हुने ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा आवेदन दिन सकिने छ । यसको भुक्तानी मिति २०९१ माघ १८ गते रहने भएको हो ।
प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदाताहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८५० करोड र १५० करोड छुट्याईएको छ । अप्रतिस्पर्धी बोलदाताहरुलाई छुट्याईएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदाताहरुलाई बिक्री गरिने । अप्रतिस्पर्धी बोलदाताहरुलाई छुटयाइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदाताहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बताइएको छ ।बोलदाताले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएका कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलदाताहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने ।
यस ऋणपत्रको विभिन्न शर्त समेत रहेका छन् । जसमा खरिद गर्न पाउने सीमा घटीमा पाँच लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पाँच लाखले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन गर्नुपर्ने हुन्छ ।यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलदाताको रुपमा मात्र भाग लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।
प्रतिस्पर्धी बोलदाताले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । इच्छुक बोलदाताले बहुब्याजदरमा समेत बोल गर्न सक्नेछन ।अप्रतिस्पर्धी बोलदाताले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलदातालाई उक्त ऋणपत्र बाँडफाँट गरिने समेत बताइएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था बाहेकका बोलदाताले आफुले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्ट मनी बापतको रकम नेपाल राष्ट्र बैंकमा रहेको विकास ऋणपत्र आवेदन खाता मा जम्मा गरेको भौचर समेत आवश्यक पर्ने बताइएको छ ।