
काठमाडौं । निक्षेप बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूबीच हुने कारोबार (अन्तरबैंक कारोबार) घटेको छ । प्रणालीमा निक्षेप थुप्रिँदै जाने र कर्जाकोे माग बढ्न नसकेपछि बैंकहरूले सापटी लिएर कारोबार गर्न छाडेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल छ खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् । वाणिज्य बैंकहरूले छ खर्ब आठ अर्ब ५५ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरूले ७८ अर्ब ८१ करोड रुपैयाँ अन्तरबैंक कारोबार गरेका छन् । पाँच महिनामा भएको अन्तरबैंक कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ खर्ब ३१ अर्ब १७ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २० खर्ब ८१ अर्ब ६७ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरूले दुई खर्ब ३६ अर्ब ८६ करोड रुपैयाँ समेत गरी कुल २३ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँबराबर कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार २०८० मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव ५३ प्रतिशत रहेकोमा २०८१ मंसिरमा दुई दशमलव ८५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० मंसिरमा दुई दशमलव शून्य छ प्रतिशत रहेकोमा २०८१ मंसिरमा तीन प्रतिशत रहेको छ । २०८१ मंसिरमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव ८२ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ६५ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ७७ प्रतिशत रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव ६४ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ६४ प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव १४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८१ मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ७८ प्रतिशत रहेको छ । यस अवधिमा विकास बैंकहरूको पाँच दशमलव ७५ प्रतिशत र फाइनान्स कम्पनीहरूको छ दशमलव ७० प्रतिशत भारित औसत ब्याजदर रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ६२ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ७९ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ८५ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ९० प्रतिशत, विकास बैंकहरूको १० दशमलव २६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११ दशमलव ४८ प्रतिशत रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८५ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ३९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ३० प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।