आत्मनिर्भर लघुवित्तको खुद नाफामा २८% गिरावट, वित्तीय अवस्था यस्तो छ

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, संस्थाले ८४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.६८ प्रतिशतले कम हो। अघिल्लो वर्षको दोस्रो त्रैमासमा संस्थाको खुद नाफा १ करोड १८ लाख रुपैयाँ थियो।  

तर, चालु वर्षको दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ। संस्थाले ६ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.४८ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिसम्म ५ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो।  

यद्यपि, सञ्चालन मुनाफा भने ३१ लाख २६ हजार रुपैयाँ घाटामा पुगेको छ। सम्भावित घाटाका लागि संस्थाले ४ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ। यसका साथै, संस्थाको रिजर्भको आकार ५.१९ प्रतिशतले घटेर १८ करोड ८३ लाख रुपैयाँमा झरेको छ।  

समीक्षा अवधिसम्म, संस्थाले ९१ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।  यता, संस्थाको खराब कर्जा अनुपात केही सुधार भएको छ। अघिल्लो वर्षको दोस्रो त्रैमासमा १५.२८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १५.०९ प्रतिशतमा झरेको छ।