रामराजा श्रेष्ठ पुनः इकोनोमिक मिडिया सोसाइटीको नेतृत्वमा, कार्यसमिति घोषणा

आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ पुनः चयन भएका छन्। संस्थाको सातौँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष श्रेष्ठ बिजखबर डट कमको प्रतिनिधित्व गर्दै इम्सनको नेतृत्वमा रहेका छन्।

उपाध्यक्षको भूमिकामा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन्। महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेलले पुनः जिम्मेवारी पाएका छन् भने सचिवको पद अर्थपथ डट कमका विष्णु तारुकेलाई प्रदान गरिएको छ। कोषाध्यक्षको रूपमा इन्स्योरेन्स खबर डट कमका केशव भण्डारी र सहसचिवमा आर्थिक आवाज डट कमका सुरेन्द्र पौडेल चयन भएका छन्।

सदस्यहरूमा अर्थ संसार डट कमका मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डट कमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डट कमका दीपक भट्ट सर्वसम्मतिले चयन भएका छन्।

इम्सनले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक मिडिया सञ्चालकहरूको हितका लागि काम गर्दै मुलुकको समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, निजी क्षेत्रलाई अनुकूल वातावरण सिर्जना गर्न सरकारसँग नीतिगत छलफल र लबिङ गर्न आफू प्रतिबद्ध रहेको समेत उनले बताएका छन्।