
काठमाडौं । मेट लाइफ नेपालले इयर केयर नेपालसँगको सहकार्यमा काठमाडौं उपत्यकाका सरकारी विद्यालयका २,४०० भन्दा बढी विद्यार्थीलाई लक्षित गर्दै १० हप्ताको स्कूल इयर हेल्थ कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमले दीर्घकालीन कान स्वास्थ्य सचेतना बढाउने र बालबालिकामा कानसँग सम्बन्धित समस्याहरूको प्रारम्भिक पहिचान तथा रोकथामलाई प्राथमिकतामा राखेको छ।
यो पहल काठमाडौं, भक्तपुर, र ललितपुरका सरकारी विद्यालयका पूर्व प्राथमिकदेखि कक्षा १० सम्मका बालबालिकाहरूका लागि केन्द्रित छ। रु. ५१३,००० को आर्थिक सहयोगमा सञ्चालन हुने यस कार्यक्रममा, इयर केयर नेपालका ईएनटी विशेषज्ञहरूले ८ देखि १० विद्यालयमा विद्यार्थीहरूको कान र श्रवणशक्ति परीक्षण गरी उपचार सेवा प्रदान गर्नेछन्।
कार्यक्रमले कानको समस्या पहिचान र रोकथामका लागि आवश्यक शिक्षाको महत्त्वलाई पनि उजागर गर्नेछ। यसले बालबालिकाको स्वास्थ्य सुधारका लागि दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।