
काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म, वाणिज्य बैंकहरूमध्ये एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमताका साथ अब्बल स्थान हासिल गरेका छन्।
वित्तीय अवस्था बलियो भएकै कारण यी दुई बैंकको सेयर मूल्य पनि उच्च छ। अधिकांश वाणिज्य बैंकहरूको सेयर मूल्य २ सयको हाराहारीमा रहे पनि एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्डको सेयर मूल्य पाँच सयभन्दा माथि छ।
हाल दोस्रो बजारमा ‘लो क्याप’ वा ‘मिड क्याप’ कम्पनीहरूको कारोबार बढी देखिए पनि नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरू ‘लार्ज क्याप’ अन्तर्गत पर्दछन्। यद्यपि, लार्ज क्याप भएकाले डिमाण्डभन्दा बढी सप्लाई हुँदा अधिकांश वाणिज्य बैंकको सेयर मूल्य वृद्धि हुन सकेको छैन। तर, एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य भने अन्य बैंकको तुलनामा महँगो छ। यसको मुख्य कारण भनेको यी बैंकहरूले लगानीकर्तालाई दिने लाभांश दर नै हो।
विगतका वर्षहरूमा जस्तै, चालु आवको दोस्रो त्रैमासिक रिपोर्टअनुसार पनि यी दुई बैंकले लगानीकर्तालाई उत्कृष्ट लाभांश दिने क्षमतामा अग्रस्थानमा छन्। तरलता व्यवस्थापनमा चुनौती र प्रावधानअनुसार ठूलो रकम प्रोभिजनमा छुट्याउनु परे पनि यी बैंकहरूले आफ्नो लाभांश वितरण क्षमतालाई कायम राख्न सफल भएका छन्। चालु आवको दोस्रो त्रैमासिक विवरणअनुसार, एभरेष्ट बैंकले ३०.५८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले २३.५५ प्रतिशत लाभांश दिन सक्ने क्षमतामा अग्रसर रहेका छन्। यी दुई बैंकको समग्र वित्तीय अवस्था बलियो देखिएको छ।
यसका साथै, दोस्रो त्रैमाससम्मका विभिन्न वित्तीय सूचकमा यी दुई बैंकको तुलनात्मक अध्ययन गरिएको छ। तथापि, यो विश्लेषण कुनै बैंकको सेयर खरिद गर्न सिफारिस गरिएको अर्थमा भने लिइनु हुँदैन।