
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि बढीरहेको नेप्से यस दिन भने सामान्य करेक्सन भएको हो।
पछिल्लो ४ कारोबार दिनमा नेप्से परिसूचक ७६.८ अंक बढेको थियो। बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।
बिहीबार नेप्से परिसूचक ११.१० अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ८४ हजार ७ पटकको कारोबारमा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक, र धौलागिरी लुघवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको साढे १९ करोडको शेयर किनबेच भएको छ।