
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ ल्याउन लागेको हो। कम्पनीले ६० करोड रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओमार्फत जारी गर्ने अनुमति पाएको थियो।
यसमा, कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। ५ प्रतिशत अर्थात ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि, र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सकिन्छ।
कम्पनीको रेटिङ केयर रेटिङ नेपालले गरेको छ, जसअनुसार कम्पनीलाई "केयरएनपी डबल बी माइनस" रेटिङ दिइएको छ। यो रेटिङले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।कम्पनीको आयोजना लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ छ भने हालसम्म ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ खर्च भइसकेको छ। यस आयोजनाको औसत लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता अवधि ७.१५ वर्ष रहेको छ।