
लिबर्टी इनर्जी कम्पनीले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद आज माघ ९ गते समाप्त हुँदैछ। कम्पनीले माघ २ गतेदेखि साधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा राखेको थियो।
यस लिलामी प्रक्रियाको व्यवस्थापन प्रभु क्यापिटलले गरिरहेको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र यसभन्दा माथिको मूल्य कबुल गर्दै आवेदन दिनुपर्नेछ। उच्चतम मूल्य कबुल गर्ने आवेदकलाई शेयर प्राथमिकता दिइनेछ, र बाँकी शेयर दोस्रो उच्च मूल्य कबुल गर्ने आवेदकलाई प्रदान गरिनेछ।
लिलामीमा सहभागी हुन न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण लिलामी शेयरको लागि आवेदन गर्न सकिनेछ। आवेदनको लागि काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा शिलबन्दी फारम बुझाउन सकिन्छ। साथै, प्रभु बैंकका विराटनगर, वीरगञ्ज, जावलाखेल, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीले मङ्सिर १६ देखि पुस ७ सम्म हालको चुक्ता पूँजीको ५०% अर्थात् १:०.५ अनुपातमा ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। सो अवधिमा आवेदन दिएका योग्य शेयरधनीलाई नियमअनुसार शेयर बाँडफाँड गरिए पनि बाँकी रहेका शेयर लिलामी प्रक्रियामा ल्याइएको हो।