माघमा  घट्यो निक्षेपको ब्याजदर, कुन बैंकले कति  प्रतिशत घटाए ?

काठमाडौं।माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १७ बैंकले पुसकै ब्याजदर स्थिर राखेका छन् भने दुइटाले घटाएका छन् । एउटाले भने बढाएको छ ।

२०८० कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले यो वर्ष पुस र माघमा भने स्थिर राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका थिए।ब्याजदर निकै सस्तिएपछि बैंकहरूबाट निक्षेप बाहिरिन थालेको छ। त्यसैलाई, मध्येनजर गर्दै अधिकांश बैंकहरूले माघमा पनि पुसकै ब्याजदर कायम राखेका हुन् ।

बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।

कर्जाको माग बढ्न नसक्दा महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता छ । चालु आवको ५ महिनामा बैंकहरूले जम्मा सवा १ खर्ब ६३ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।

पुसको तुलनामा माघमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसतमा व्यक्तिगततर्फ ०.०२ प्रतिशत बिन्दुले घटेको छ भने संस्थागततर्फ ०.०५ प्रतिशत बिन्दुले घटेको छ । पुसमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.०२ प्रतिशत रहेकोमा माघमा घटेर ६ प्रतिशत बिन्दुमा आइपुगेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर पुसमा ४.५३ प्रतिशत रहेकोमा माघमा घटेर ४.४८ प्रतिशतमा झरेको छ ।

माघका लागि दुई वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल एसबीआइ र कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । जसमा एसबीआइले ०.५ प्रतिशत र कृषिले ०.०६ प्रतिशतले घटाएको छ ।


माघमा लक्ष्मी सनराइज बैंकले भने निक्षेपको ब्याजदर बढाएको छ । लक्ष्मी सनराइजले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ ।माघमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.१० प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनआइसीले सर्वाधिक ६.६ प्रतिशत ब्याजदर दिने भएको छ भने नेपाल एसबीआइको सबैभन्दा कम ५.६ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर २०८० कात्तिकदेखि लगातार ब्याजदर घटाउँदै आएका छन् ।

बैंकहरूले यसअघि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले औसत बेसरेट ७ प्रतिशतमा झरिसकेको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि निकै घटेको छ ।२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफू खुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । त्यसअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।