
काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी उक्त मेसिन प्रदान गरेकाे हाे ।
ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो ।
विशेषगरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई ध्यानमा राखी उक्त उपकरण प्रदान गरिएको हो ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नेत्रावती डबजोङ अस्पतालसहित हालसम्म ४७ वटा मेसिनहरू प्रदान गरिसकेको छ ।
हालसम्मको योगदानले करिब ८ हजार ५०० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन् ।
नेत्रावती डबजोङ अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पदाधिकारीबाट उक्त स्वास्थ्य चौकीका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिका बीच बेबी वार्मर हस्तान्तरण गरिएको थियाे ।
सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।