रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायतका काबु बाहिरको परिस्थितिको कारणले आयोजनाको लागत वृद्धि भई बैंकको ऋण थप भएकोले उक्त आयोजनाका लागि लिएको ऋण कम गर्न प्रयोग गर्नेछ।