
सुनसरी । जबरजस्ती करणी उद्योगमा संलग्न रहेको ठहर गर्दै सुनसरी जिल्ला अदालतले भेषराज घिमिरेलाई दोषी ठहर गरेको छ। अदालतले २०८२ बैशाख ११ गते सुनुवाइ गर्दै घिमिरेमाथि कानुनी कारबाही अघि बढाउने फैसला सुनाएको हो।
बराहक्षेत्र नगरपालिका–२, पुनर्वास, सुनसरी निवासी घिमिरे २०८१ बैशाख ९ गते पक्राउ परेका थिए र त्यसयता झुम्का कारागारमा पूर्वपक्षमा रहेका थिए। उनी बृहत्तर बराहक्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष, आदर्श मा.वि. बराहक्षेत्र–२ का पूर्व सह–प्राध्यापक, शंकराचार्य मठका पूर्व अध्यक्ष तथा नेकपा एमाले निकट राजनीतिमा संलग्न व्यक्ति थिए। साथै, उनले आफू राधाकृष्ण भक्ति प्रतिष्ठान र प्रथम जगद्गुरु पीठ, बराहक्षेत्र–१ का सदस्य भएको दाबी गर्दै आएका थिए।
मुद्दाको पृष्ठभूमिमा, २०८० फागुन ३० गते राति करिब ८ बजे पीडित महिला बराहक्षेत्र A कुमारी आफ्नै कोठामा बसिरहेकी बेला भेषराज घिमिरे जबरजस्ती प्रवेश गरी बलात्कार प्रयास गरेका थिए। पीडितले प्रतिकार गर्दा घिमिरे झन् आक्रामक बनेर जबरजस्ती करणी गर्न खोजेको पीडितको बयानमा उल्लेख छ। त्यही क्रममा घिमिरेले आफू प्रतिष्ठित संस्थासँग जोडिएको प्रभावशाली व्यक्ति भएको भन्दै धम्क्याएको बताइएको छ।
घटना सार्वजनिक भएपछि पनि घिमिरे पक्षबाट पीडितमाथि पटकपटक आर्थिक प्रलोभन देखाइ पीडितलाई मूक राख्ने प्रयास गरिएको थियो। ती प्रयास असफल भएपछि पीडितले कानुनी मार्ग रोजेकी थिइन्। अदालतमा मुद्दा दर्ता भएपछि पनि पीडितलाई अङ्गभङ्ग गरिदिने धम्की दिइँदै आएको पीडित पक्षले जनाएको छ।
अदालतले ठोस प्रमाण, साक्ष्य र बयानका आधारमा घिमिरेलाई दोषी ठहर गर्दै पीडितलाई न्याय दिएको छ। पीडित महिलाले अदालतको फैसलाले आफ्नो वर्षदिन लामो संघर्षलाई सम्मान र न्याय दिएको बताउँदै भनिन्, "दोषीलाई कारबाही र पीडितलाई न्याय मिल्दा सत्यको जीत भएको छ। आज पनि न्याय र सत्य जीवित छन् भन्ने आशा पलाएको छ।"