कोरोना महामारीको संक्रमण कम भएसँगै नयाँ होटल धमाधम सञ्चालनमा आइरहेका छन् । अहिले ती ठूला लगानीमा सञ्चालन भइरहेका होटलहरुले धमाधम आइपीओ निकाल्ने तयारी गरिरहेका छन् । पुस मसान्त भित्र साधारण सभा गर्ने चटारोसँगै धेरै होटलहरुले आइपीओमा जाने एजेन्डासमेत विशेष प्रस्तावमा राखेका छन् ।
लामो समयसम्म पर्यटन क्षेत्रबाट नेप्सेमा सोल्टी होटल्स, तारागाउँ रिजेन्सी होटल र ओरियन्टल होटल्स गरी तीन वटा कम्पनी मात्रै सूचीकृत थिए । केही वर्ष अघिबाट चन्द्रागिरी हिल्स लिमिटेडसँगै गत वर्ष कालिन्चोक दर्शन लिमिटेड र सिटी होटल समेत सो सूचीमा थपिएका छन् ।
नेपाल धितोपत्र बोर्डको आइपीओ पाइपलाइनमा समेत होटल तथा पर्यटन क्षेत्रबाट ७ वटा कम्पनीले आइपीओको लागि आवेदन दिएका छन् । एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेष्ट इन लिमिटेड, अर्किड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केवल कार, बन्दीपुर केबवल कार एन्ड टुरिज्म लिमिटेड, आकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेड गरी ७ वटा कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न स्वीकृति माग गरेका छन् । आवेदन माग गरेका ७ वटा कम्पनीमध्ये आकामा होटलले भने ५० रुपैयाँ अंकित मूल्यमा शेयर निष्काशन गर्न आवेदन गरेको छ भने अन्य सबैले १ सय रुपैयाँ अंकित मूल्यमै शेयर निष्काशन गर्न माग गरेको हो ।
ठमेल प्लाजा एन्ड सुइट्स होटल १० लाख कित्ता शेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएको हो । सो होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ । अमेरिकाको न्यूजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्टअन्तर्गत संसारभरी ९ हजार १ सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल २५ वटा ब्राण्डहरुमध्ये रमदा ६३ देशमा ८५१ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।
होटल फरेष्ट इन लिमिटेड आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएर गत वर्षको कात्तिक १५ गते नै सेबोनमा आवेदन समेत दिइसकेको छ । एनआईसी एसिया क्यापिटल शेयर निष्काशक तथा बिक्री प्रबन्धक रहेको होटलले ९ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ । यो होटल बुढानिलकण्ठ, काठमाडौंमा रहेको छ ।
नेपालले सन् २०२० लाई नेपाल पर्यटन वर्ष मनाउने घोषणा गरेसँगै होटल तथा अन्य पूर्वाधारमा निजी क्षेत्रबाट ठूलो लगानी भयो । सरकारले वार्षिक २० लाख पर्यटक ल्याउने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गरेर तामझामका साथ पर्यटन वर्षको शुरुवात गरे पनि २०२० को शुरुवातसँगै फैलिएको कोरोना महामारीले सरकारी लक्ष्य पुरा हुन सकेन । पर्यटन वर्ष घोषणा भएसँगै अहिले उपत्यकाबाहिर पनि ठूलो क्षमतामा होटल खोल्ने क्रम शुरु भएको छ । नयाँ होटलसँगै म्यारियट, हिल्टनजस्ता अन्तर्राष्ट्रिय चेन होटलको व्यवस्थापन समेत नेपाल भित्रिएको छ ।
सरकारको लक्ष्यमा साथ दिन निजी क्षेत्रले समेत होटल लगायतका पूर्वाधारमा ठूलो लगानी गर्यो । यस अघि नेपालले सन् १९९८ र सन् २०११ गरी दुई पटक नेपाल भ्रमण वर्ष मनाएर अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रचार गरेको थियो । राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धन गरिएपछि नेपालमा पर्यटकको आगमन बढ्ने आशाले लगानी बढाएपनि अहिलेसम्म पर्यटकको आगमन दर भने सोचेजस्तो उत्साहजनक नभएको होटल संघ नेपालका पदाधिकारीहरु बताउँछन् । कोरोना अघि नै नेपालसँग १० लाखभन्दा बढी पर्यटक कोठा रहे पनि अहिले उपत्यकाबाहिर समेत गरेर अहिले होटल पूर्वाधारमा धेरै नै बढिसकेको हान बताउँछ । तर सोही अनुसार पर्यटक आगमन नभएको हान अध्यक्ष विनायक शाह बताउँछन् ।