नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौँ–भैरहवा विशेष उडान गर्ने

काठमाडौँ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा विशेष उडान गर्ने भएको छ ।

दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ उद्धार उडान गर्ने निर्णय गरेको हो । निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उहाँले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने/आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आए.ए. १७ ३३ विमान काठमाडौँबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ । भैरहवाबाट काठमाडौँ उडान नम्बर आर.ए १७४३ १२ः ३० बजे भर्नेछ । यो गन्तव्यमा काठमाडौँ–भैरहवा रु सात हजार र भैरहवा–काठमाडौँ रु तीन हजार आठ सय ९० निर्धारण गरिएको छ ।